नेपाली संस्थाका प्रतिनिधिहरुलाई एकाउन्ट तथा बुककिपीङ सम्बन्धी तालिम सम्पन्न
सामुदायिक संस्थाका नेतृत्वकर्ताहरुका लागि नेपलीज एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित एकाउन्ट तथा बुककिपीङ सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
आइतवार ब्रन्सविक इस्टमा आयोजित तालिममा न्याभले यस क्षेत्रमा रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई संस्थाको क्षमता विकास गराउने गरी आर्थिक पारदर्शीता कसरी व्यवस्थित गर्ने, अष्ट्रेलियाको कर कानून, आर्थिक कानूनसँग नबाझिने गरी हिसाव किताव कसरी राख्ने भन्ने विषयमा एक दिने तालिम प्रदान गरेको हो ।
तालिम प्रशिक्षकका रुपमा चार्टड अकाउन्टेन्ट राजेश आचार्य तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट अर्जुन ढकालले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो। संस्थाभित्र हुने आर्थिक आयव्यायहरुलाई अष्ट्रेलियाको नियम नबाझिनेगरी चुस्त दुरुस्त बनाउन सकिने उपायहरुको बारेमा तालिममा जानकारी प्रदान गरिएको थियो भने प्रशिक्षकहरुले उपस्थित सहभागिहरुका जिज्ञासाहरुको पनि जवाफ दिनुभएको थियो ।
कार्यक्रम संयोजक तथा न्याभका कोषाध्यक्ष एकिन्द्र तिमिल्सेनाले न्याभका पदाधिकारीहरु सहित एनएआरएनए, एएनएमसी, एपिँग ओलर्ट, फारवेस्ट नेपाली कम्युनिटी, नर्दन नेबरहुड नेपाली कम्युनिटी, मेलवर्न चौतारी, साउथ एसियन कम्युनिटी लिंक ग्रुप, मेलवर्न नेप्लिज कम्युनिटी वेस्ट लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागिताको निम्ती धन्यवाद दिदै प्रशिक्षकद्वय राजेश आचार्य र अर्जुन ढकालप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा न्याभका संस्थापक अध्यक्ष तथा साउथ एसियन कम्युनिटी लिंक ग्रुपका अध्यक्ष डा. राजु अधिकारीले यस कार्यक्रमले नेपाली सामुदायिक संस्थाहरुको आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, एनएनसियाका नवनिर्वाचित अध्यक्ष कृष्ण महरा यस कार्यक्रमबाट संस्थाको आर्थिक प्रणाली सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।
न्याभले भिक्टोरिया सरकारबाट नेपाली संस्थाहरुको क्षमताको विकासको निम्ती न्याभले पाएको आर्थिक अनुदान मार्फत यो कार्यक्रम सञ्चालन गरेको हो। तालिमको सहजीरकण न्याभका सहसचिव आलोक पौडेलले गर्नुभएको थियो ।