अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न
३० मे २०२६ का दिन नेपाली समुदायको एकता, वातावरणीय चेतना तथा युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मेलबर्नको ग्लेनरोयमा सफलतापूर्वक सम्पन्न भएको छ।
फेडेरेशन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (FeNCAA) को आयोजनामा तथा नेपालिज एसोसिएसन अफ भिक्टोरिया (NAV), Nepalese Environment Protection and Forestry Association (NEPAFE) र Recycle to Revive (R2R) को सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
“पग्लिरहेको हिउँ, बढ्दो जिम्मेवारी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा युवा तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो चरणमा वातावरणीय सचेतना पदयात्रा आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले प्रकृति संरक्षण, जैविक विविधता तथा वातावरणीय जिम्मेवारीबारे जानकारी प्राप्त गरेका थिए।
बालबालिकाहरूका लागि आयोजित विशेष सत्रमा प्रकृति संरक्षण, पुनः प्रयोग (Recycling) को महत्व तथा नेपाली संस्कृति र वातावरणबीचको सम्बन्धबारे जानकारी प्रदान गरिएको थियो। यस कार्यक्रमले दोस्रो पुस्ताका नेपाली बालबालिकालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्दै वातावरणप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष युवा नेतृत्व तथा सशक्तीकरण रहेको थियो। युवा सहभागीहरूलाई सामाजिक उत्तरदायित्व, सामुदायिक नेतृत्व, वातावरण संरक्षण तथा स्वयंसेवाको महत्वबारे अभिमुखीकरण गरिएको थियो। यसले युवाहरूलाई समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न प्रेरणा दिएको विश्वास गरिएको छ।
कार्यक्रमको अन्तिम चरणमा “विश्वव्यापी तापक्रम वृद्धि, वातावरणीय चेतना र हाम्रो जिम्मेवारी” विषयमा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो। वक्ताहरूले सगरमाथा तथा हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको समाधानमा समुदायको भूमिकाबारे प्रकाश पारेका थिए।
यस अवसरमा विभिन्न नेपाली सामुदायिक संस्थाहरू, युवा, बालबालिका, अभिभावक तथा समुदायका अगुवाहरू एकै स्थानमा भेला भई सहकार्य, एकता र सामूहिक जिम्मेवारीको सन्देश दिएका थिए। विशेष रूपमा, FeNCAA, NAV, NRNA Victoria लगायत विभिन्न संस्थाहरूबीचको सहकार्यले नेपाली समुदायलाई एकताबद्ध गर्दै साझा उद्देश्यका लागि मिलेर काम गर्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको थियो।
आयोजकहरूले सगरमाथा दिवस केवल नेपालको गौरवको उत्सव मात्र नभई वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा सामुदायिक एकताको अभियान भएको बताएका छन्।