05/05/2026
‘नेपाली नयाँ वर्ष २०८३ तथा बहुसांस्कृतिक महोत्सव’ भव्य रूपमा सम्पन्न
नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा मेलबर्नको एपिंग मेमोरियल हल (Epping Memorial Hall) मा ‘न्याभ नेपाली नयाँ वर्ष २०८३ तथा बहुसांस्कृतिक महोत्सव‘ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली नयाँ वर्षको स्वागतार्थ आयोजित यस महोत्सवमा स्थानीय नेपाली समुदाय तथा अन्य बहुसांस्कृतिक समुदायको ठूलो उपस्थिति रहेको थियो।
नेपाली पहिचान र कला-संस्कृतिलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस एकदिने महोत्सवमा विभिन्न आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए:
- मनोरञ्जनात्मक प्रस्तुतिहरू: नेपालका चर्चित हाँस्य कलाकारहरूको‘कमेडी दरबार‘ टिमको विशेष प्रस्तुति सँगै बहुसांस्कृतिक संगीत र परम्परागत नृत्यहरू प्रदर्शन गरिएको थियो।
- बालबालिकाको प्रतिभा: महोत्सवमा न्याभ बालचौतारीका साना बालबालिकाहरूले आफ्नो विशेष प्रतिभा र सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए।
- नेपाली स्वाद र हस्तकला: कार्यक्रम स्थलमा परम्परागत नेपाली स्वादका खानाका स्टलहरू र नेपाली हस्तकलाका सामग्री तथा पहिरनहरूको प्रदर्शनी गरिएको थियो।
- पारिवारिक वातावरण: सबैका लागि निःशुल्क प्रवेश (Free Entry) राखिएको उक्त कार्यक्रममा बालबालिकाहरूका लागि फेस पेन्टिङ, निःशुल्क पपकर्न र कटन क्यान्डीको व्यवस्था गरिएको थियो।
कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि योगदान गर्नुहुने प्रायोजक संस्थाहरु, विभिन्न प्रतिनिधिहरु, कलाकारहरु, स्वयंसेवीहरु, सम्पूर्ण दर्शक तथा भिक्टोरियावासी समग्र नेपाली समुदायप्रति न्याभ हार्दिक आभार व्यक्त गर्दछ।