25/11/2021

न्याभको रजत जयन्ती मनाउने विषयमा समाजका अगुवाहरुसंग बृहत् छलफल कार्यक्रम

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले रजत जयन्ती अर्थात २५औं वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। उक्त विषयमा न्याभले गत आइतबार साँझ जुम मिटिङ्गको माध्यमबाट सम्पूर्ण भिक्टोरियावासी नेपाली समाजका अगुवाहरुसंग बृहत छलफल गर्यो। जसबाट रजत जयन्ति आयोजनाका लागि स्टेरिङ कमिटी गठन गरिएको छ। उक्त स्टेरिङ कमिटीको मातहतमा विभिन्न सहकमिटीहरू बनाउने र सबै सहकमिटीमा न्याभका भुपूअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका सदस्यहरूको संलग्नता रहने निर्णय गरिएको छ ।

छलफलमा उपस्थित बिभिन्न संघसंथाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सुझाबलाई मध्यनजर गर्दै कार्यक्रमको रुपरेखाहरू परिमार्जित गरिदै लगिनेछ । रजत जयन्तिमा भिक्टोरियामा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीहरूको संलग्नतामा एउटा सल्लाहकार समिति बनाईनेछ । छलफल कार्यक्रममा उपस्थित सबै अगुवाहरूले भिक्टोरियावासी नेपाली समुदायको यो उत्साहपूर्ण र खुसीको अवसरमा आफूहरुको तर्फबाट आवश्यक सबै सहयोग हुने कुरामा वचनबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले आवश्यक परेको खण्डमा आफूहरु जुनसुकै कमिटीमा रहेर पनि सहयोग गर्ने कुरामा विश्वास दिलाउनुभयो ।

छलफल कार्यक्रममा नेपालका तर्फबाट भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले न्याभको रजत जयन्ति भिक्टोरियावासी सम्पूर्ण नेपालीहरुका लागि गौरवको कुरा रहेको बताउनुभयो। उहाँले न्याभको सुरुवात र इतिहासका बारेमा सबैलाई जानकार गराउनुभएको थियो।

उहाँले २५ वर्ष पूरानो यस संस्थाले विभिन्न उतारचढाव झेल्नुपरेतापनि समुदायको हितका निम्ति निरन्तर अगाडी बढेर यहाँसम्म आइपुग्नु आफैमा ठूलो कुरा रहेको बताउनुभयो। त्यसैगरी, न्याभका सँस्थापक अध्यक्ष डा. राजु अधिकारीले न्याभको उद्देश्य र यसको आवश्यकताका बारेमा बताउनुभएको थियो । संस्थाका सल्लाहकार जोग लिम्बुले न्याभ र न्याभको भबिष्य बारेमा बोल्नुभयो भने भूतपूर्व अध्यक्षहरू रन्जन बैद्द, सुदिर शाक्य, बोम योञ्जन, डा. अनुपम पोखरेल लगायत सबै प्रतिनिधीहरूले आआफ्नो धारणा राख्नुभएको थियो।

न्याभका वर्तमान अध्यक्ष राम गुरूङले यो रजत जयन्ति कसरी मनाईंदै छ भन्ने बारेमा प्रष्टाउनुभएको थियो । उहाँले अब छिट्टै यो २५औं रजतजयन्ति कमिटीलाई पुर्णता दिँदै काम अगाडी बढ्ने समेत जानकारी गराउनुभयो । नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) विभिन्न उतारचढावलाई झेल्दै २५औं वर्षमा आइपुग्दा सामुदायिक काममा निरन्तर अगाडी बढ्दै अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा आफूलाई स्थापित गर्न सफल भएको छ।