03/03/2022

१७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट भव्यताका साथ सम्पन्न

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) द्वारा आयोजित १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको छ। जनवरी १६ देखि सुरु भएको टुर्नामेन्ट गत आइतबार अर्थात फेब्रुअरी २७ मा भएको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रमसंगै सम्पन्न भएको हो।

न्याभले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा टुर्नामेन्ट आयोजना गर्दै आएको छ। भिन्न-भिन्न क्लबका १० टिमको सहभागिता र च्यारिटी म्याचका कारण यसपटकको टुर्नामेन्ट अझ बृहत् बन्यो। नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण सहयोगार्थ च्यारिटी म्याच आयोजना गरिएको हो। १७औं ग्रेस न्याभ टुर्नामेन्टका खेल हरेक साताको आइतबार हुँदै आएका थिए। जसमा ग्लोबल इन्टरफेस क्रिकेट क्लब र रोयल राइनोज क्रिकेट क्लब फाइनलमा प्रवेश गर्न सफल भए। गत आइतबार सम्पन्न फाइनल खेलमा ग्लोबल इन्टरफेस क्रिकेट क्लब विजेता घोषित भयो भने रोयल राइनोज क्रिकेट क्लब उपविजेता बन्यो।

खेल पश्चात आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा टुर्नामेन्टमा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडी तथा क्लबलाई समेत सम्मान गरिएको थियो। एक्सपर्ट सगरमाथा ब्लुजका आशिष जीसी, फारवेस्ट हन्टर्सका दिपेश विष्ट, माभेन क्रिकेट क्लबका सुदीप पौडेल क्रमशः उत्कृष्टकिपर, उत्कृष्ट फिल्डर र उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी, उत्कृष्ट अनुशासित टिम गुल्मी टाइगर्स क्रिकेट क्लब बन्न सफल भयो भने सर्वोत्कृष्ट डेब्यु टिमको अवार्ड एभरेष्ट लायन्सले प्राप्त गर्यो।

पुरस्कार वितरण मोरल्याण्ड काउन्सिलर एवम् सोसलिस्ट अलायन्स काउन्सिलर फर मोरल्याण्ड सु बोल्टन, एएनएमसीका अध्यक्ष राजेश आचार्य, न्याभका सल्लाहकार तथा पूर्व अध्यक्ष बम योन्जन, ट्रेभर मोयल, एनआरएनए भिक्टोरीया संयोजक हरि खड्का लगायत ग्रेस इन्टरनेशनल मेल्बर्नका निर्देशक दीपक आचार्य र प्रकाश रेग्मीले गर्नुभएको थियो।

१७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा समूह ‘ए’ तर्फ फारवेस्ट हनटर्स, ग्लोबल इन्टरफेस, माभेन, नर्रे किंग्स र हिमालयन क्रिकेट क्लब रहेका थिए भने समूह ‘बी’ मा एक्स्पर्ट सगरमाथा, गुल्मी टाइगर्स, रोयल राइनोज र गोर्खाली एभरेस्ट लायन क्रिकेट क्लब रहेका थिए।

एएनएमसीको सहयोगार्थ गरिएको च्यारिटी म्याचको खेल पनि आइतबार नै सम्पन्न भएको छ। मैत्रीपूर्ण खेलमा सामुदायिक तथा व्यवसायिक अगुवाहरुको इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिम, रियलस्टेट व्यवसायीहरुको कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स, एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्स र उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए।

ती मध्ये इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम र कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम फाइनलमा प्रवेश गरे भने इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमले जित हासिल गर्यो। खेलमा सहभागी व्यक्तित्वहरुले समुदायको साझा सम्पत्ति नेपाली बहुसांस्कृतिक केन्द्रको सहयोगार्थ खेल्न पाउँदा गर्व लागिरहेको बताउनुभयो। कोभिड पछिको समय भएको हुनाले खेलले आफूहरुमा मानसिक तथा शारीरिक रुपमा ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उहाँहरुले टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती लगायत आयोजक टिमप्रति आभार समेत व्यक्त गर्नुभयो।