न्याभ गाला डिनर तथा पुरस्कार वितरण समारोह सम्पन्न
नेपलीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा प्रत्येक वर्ष आयोजना हुने प्रतिष्ठित र बहुप्रतिक्षित कार्यक्रम ‘न्याभ गाला डिनर तथा पुरस्कार वितरण समारोह २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।
भिक्टोरियामा वसोवास गर्ने नेपाली डायस्पोराको सबैभन्दा ठूलो सामाजिक उत्सवको रूपमा स्थापित यस विशेष साँझमा यस वर्ष पनि नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेर नेपाली कला, संस्कृति, र पहिचानलाई जीवन्त राख्नुका साथै आपसी भाईचारा र एकतालाई अझ मजबुत बनाउनु रहेको थियो।
यस पटकको भव्य समारोहमा भिक्टोरियाको नेपाली समुदायमा विभिन्न विधा र क्षेत्रमा अतुलनीय योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्व, समाजवेवी, तथा स्थानीय व्यवसायहरूलाई विशेष सम्मान तथा प्रतिष्ठित ‘न्याभ अवार्ड’ बाट विभूषित गरिएको थियो।
पुरस्कार वितरणको औपचारिक सत्रसँगै आयोजित भव्य बहु-परिकार सहितको रात्रीभोजमा सहभागीहरूले व्यावसायिक तथा सामाजिक नेटवर्किङको भरपुर फाइदा उठाएका थिए। कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाउन स्थानीय तथा आमन्त्रित कलाकारहरूले आफ्ना आकर्षक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले हलमा उपस्थित सबैलाई नेपालीपनको न्यानो आभास दिलाएको थियो।