नेपालमा बाढीबाट प्रभावित समुदायहरूप्रति Nepalese Association of Victoria (NAV) को ऐक्यबद्धता
बिहीबार, २७ अगस्ट २०२६ । मेलबर्न, भिक्टोरिया
नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्रतिकूल मौसमका कारण भएको जनधनको क्षतिप्रति नेपालिज एसोसिएसन अफ भिक्टोरिया (NAV) गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ ।
यस विपत्तिमा ज्यान गुमाउनु भएका व्यक्तिहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, बेपत्ता, घाइते, विस्थापित तथा ठूलो क्षति र कठिनाइ सामना गरिरहेका सम्पूर्ण परिवार तथा समुदायप्रति हाम्रो गहिरो सहानुभूति रहेको छ।
यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा अहोरात्र खटिरहनुभएका सुरक्षाकर्मी, उद्धार टोली, स्वास्थ्यकर्मी, स्थानीय निकाय, स्वयंसेवक, सामुदायिक संस्थाहरू तथा सम्पूर्ण व्यक्तिहरूको असाधारण प्रयासप्रति हामी हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं ।
यस चुनौतीपूर्ण घडीमा NAV ले ANMC, NRNA लगायत अन्य नेपाली सामुदायिक संघसंस्था, अगुवाहरूसँग सहकार्य र समन्वय गर्दै, भिक्टोरियास्थित नेपाली समुदायले नेपाल तथा विपद् प्रभावित समुदायहरूलाई कसरी सबैभन्दा प्रभावकारी, व्यवस्थित र उपयुक्त ढंगबाट सहयोग गर्न सक्छ भन्ने विषयमा कार्य गरिरहेको छ ।
सहयोग तथा आर्थिक योगदान सम्बन्धी महत्त्वपूर्ण अनुरोध
NAV ले सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई आधिकारिक, प्रमाणित र विश्वसनीय माध्यमबाट मात्र आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछ ।
सम्भव भएसम्म नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सञ्चालित आधिकारिक विपद् राहत कोष मा प्रत्यक्ष सहयोग गर्न हामी विशेष रूपमा अनुरोध गर्दछौं। त्यसैगरी, NRNA द्वारा आधिकारिक रूपमा घोषणा, प्रमाणित वा समर्थन गरिएका राहत अभियान GoFundMe अभियानमार्फत पनि सहयोग गर्न सकिनेछ ।
हाम्रो समुदायले नेपाललाई हरेक कठिन समयमा साथ दिँदै आएको छ । यस दुःखद घडीमा पनि NAV आफ्नो क्षमता र सम्भावनाभित्र रहेर मातृभूमि नेपाल र नेपाली जनताको सहयोगका लागि प्रतिबद्ध छ।
हामी भिक्टोरियास्थित नेपाली समुदाय, समग्र अष्ट्रेलियाली समुदाय तथा नेपालप्रेमी सम्पूर्ण शुभेच्छुकहरूलाई विपद् प्रभावित परिवारलाई आफ्नो प्रार्थना र सम्झनामा राख्दै करुणा, मानवता र ऐक्यबद्धताका साथ एकजुट हुन आग्रह गर्दछौं।
हाम्रो मन नेपालसँग छ । हाम्रो प्रार्थना प्रत्येक प्रभावित परिवारसँग छ । हाम्रो समुदाय एकजुट छ र सहयोगका लागि तयार छ । दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौं । बेपत्ता व्यक्तिहरू सकुशल परिवारको सम्पर्कमा आउन सकून् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् । र यस विपत्तिबाट प्रभावित प्रत्येक परिवार तथा समुदायलाई यो कठिन समय सामना गर्ने शक्ति, साहस र आशा प्राप्त होस्।
नेपाल र नेपालीसँग हामी सधैं साथमा छौं ।
Nepalese Association of Victoria (NAV)
Melbourne, Victoria, Australia