अन्तर-विद्यालय नेपाली हाजिरीजवाफ प्रतियोगिता २०२६ सम्पन्न
नेपाली भाषा, संस्कृति तथा सामुदायिक ज्ञानप्रति बालबालिकाको रुचि अभिवृद्धि गर्ने उद्देश्यले NAV बालचौतारी साउथ इस्ट मेलबर्न द्वारा आयोजित अन्तर-विद्यालय नेपाली हाजिरीजवाफ प्रतियोगिता २०२६ आइतबार, ३१ मे २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमलाई नेपालिज एसोसिएसन अफ साउथ इस्ट मेलबर्न (NASEM), भूमिदत्त धौलीदेवी (B&D) फाउन्डेसन तथा Recycle to Revive (R2R) ले सहयोग गरेका थिए। प्रतियोगितामा भिक्टोरियाका विभिन्न नेपाली भाषा तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कडा प्रतिस्पर्धापछि Cardinia Nepali Community School प्रथम, Hamro Pathshala द्वितीय तथा NAV Balchautari West तृतीय हुन सफल भएका छन्।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूले उत्कृष्ट ज्ञान, आत्मविश्वास, टोली भावना र खेलभावना प्रदर्शन गरेका थिए। आयोजकले सहभागी सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
विशेष रूपमा लामो दूरी तय गरी कार्यक्रममा सहभागी भएको Nepali पाठशाला Geelong टोलीको समर्पण र उत्साहको पनि प्रशंसा गरिएको छ। यस्ता कार्यक्रमहरूले बालबालिकामा नेतृत्व क्षमता, बौद्धिक विकास, नेपाली भाषा तथा संस्कृतिप्रतिको लगाव बढाउनुका साथै विभिन्न विद्यालयबीच आपसी सम्बन्ध र सहकार्यलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
आयोजकहरूले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सामुदायिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै नेपाली समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो थियो अन्तर-विद्यालय नेपाली समुदाय हाजिरीजवाफ प्रतियोगिता २०२६ सम्बन्धी समाचार।